News लिगलिडरलाई हराउँदै रेलिगेशन क्षेत्रबाट बाहिरियो पुलिस
गोलनेपाल

काठमाडौं । रोमाञ्चक जितका साथ विभागीय टोली नेपाल पुलिस क्लब शहिद स्मारक ए डिभिजन लिगतर्फ लिगतालिकामा रेलिगशन क्षेत्र छाड्दै बाहिर निस्किएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स्मा भएको खेलमा पुलिसले लिगलिडर जावलाखेल युथ क्लबमाथि २–१ को जित निकाल्यो । लिगमा समग्रमा यो पुलिसको चौथो जित समेत हो ।

पुलिसको जितमा विदेशी खेलाडीहरु नै नायक रहे । पहिलो हाफको ३४औं मिनटमा मोसेस ट्वुमको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो । ८७औं मिनटमा लेबनानी फरवार्ड अहमद हिजाजीले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरे ।

उता दोस्रो गोल खाएको एक मिनट लगतै जावलाखेलका लागि विपिन कडेलले एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन सकेनन् ।

यो नतिजापछि १४ खेलबाट १५ अंक जोडेको पुलिस पुछारबाट उक्लिएर १०औं स्थानमा पुगेको छ । पराजित जावलाखेल भने २४ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।

मंगलबार च्यासल स्टेडियममा भएको खेलमा दोस्रो स्थानको टोली थ्रीस्टारले खुमलटारसँग २–२ को बराबरी खेलेपछि जावलाखेलको शिर्षता जोगिएको छ । १४ खेलबाट २३ अंक जोडेको थ्रीस्टा दोस्रो स्थान मै छ भने खुमलटार १४ अंकका साथ पुछारमा छ ।

Post Comments