News मच्छिन्द्रको पाँचौं जित, एनआरटी रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ साविक विजेता मच्छिन्द्र फुटबल क्लबले बिहीबार सिजनको पाँचौं जित दर्ता गर्ने क्रममा संकटा क्लबमाथि ३–१ को प्रभावशाली जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलको चौथो मिनट मै देवेन्द्र तामाङको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता बनाएको थियो । दुवै टोलीबाट बाँकी तीन गोलहरु भने दोस्रो हाफमा सम्पन्न भए । ६८औं मिनटमा ओलावाले आफिजले मच्छिन्द्रको अग्रता दोब्बर बनाए ।

तर ७७औं मिनटमा एनकेन्गु जुनियरले संकटाका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे तापनि सफल भएनन् । उता ८९औं मिनटमा बिमल घर्ती मगरले मच्छिन्द्रका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितपछि १४ खेलबाट २१ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । मच्छिन्द्र लिगलिडर जावलाखेल भन्दा अब ३ अंकले मात्र पछाडी छ । उता पराजित संकटा भने १६ अंकका साथ ११औं स्थानमा खस्केको छ ।

एपिएफ र एनआरटीको बराबरी

त्यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा विभगीय टोली एपिएफ फुटबल क्लबले हार नजिक पुगेर पनि एनआरटी विरुद्ध रोमाञ्चक बराबरी खेल्दै अंक खोसेको छ ।

खेलको ५८औं मिनटमा लालनुनजामाको गोलबाट एनआरटीले खेलमा शुरुवाती अग्रता बनाए पनि खेलको अन्तिमतिर इन्जुरी समयमा सम्हालिन नसक्दा त्यो अग्रता गुमाउन पुगेको थियो । खेलको इन्जुरी समयमा अडामा डुम्बियाले एपिएफका लागि बराबरी गोल गर्दै विभागीय टोलीको सम्भावित हार टार्नुका साथै एनआरटीसँग अंक खोस्न पनि सफल भएका थिए ।

यो नतिजापछि १४ खेलबाट १९ अंक जोडेको एपिएफ लिगतालिकाको सातौं स्थानमा छ । उता एनआरटी भने १७ अंकका साथ नवौं स्थानमा छ ।

Post Comments