News युनिकलाई पार्टी इभेन्ट बुटवल प्रथम फुटसल कपको उपाधि
सुरज राना मगर

बुटवल । पार्टी इभेन्ट बुटवल प्रथम खुला फुटसल कपको उपाधि युनियक फुटसल, मणिग्रामले जितेको छ । शनिबार सम्पन्न प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा युनिकले इन्टर स्पोर्टस क्लब, बुटवललाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि मोनालिसा फुटसलमा सम्पन्न निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछिको पेनाल्टी शुटआउटमा भने युनियकले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

विजेता बनेको युनियकले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता बनेको इन्टरले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रसार संयोजक बारिश रानाले जानकारी दिए ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी युनिक फुटसलका अंकित ढकाल घोषित भए । उत्कृष्ट गोलरक्षक पनि युनिक कै एलेक्सिस क्षेत्री चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार इन्टर स्पोर्टसका रेशम चौहान मगरले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लाफा समूह, बुटवलका निवर्तमान अध्यक्ष तारा सिंह रेश्मी मगर, पार्टी इभेन्ट बुटवलका अध्यक्ष अमित गुरुङ, खेल संयोजक मनिष श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

विभिन्न पार्टी, इभेन्टहरुको व्यवस्थापन र आयोजना गर्दै आएको आयोजक संस्थाले खेलकुद र सामाजिक उत्तरदायित्व वहन गर्दै फुटसल प्रतियोगिता आयोजना गरेको पार्टी इभेन्ट बुटवलका अध्यक्ष अमित गुरुङले बताए । अहिलेका युवा पुस्ताहरुलाई खेलकुदको माध्यमबाट पनि सही बाटोमा लैजान यस्ता प्रतियोगिताहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने योजना रहेको उनले सुनाए ।

 

Post Comments