News शिर्ष चारमा मच्छिन्द्र, आर्मी र संकटाको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार १५औं चरणका अन्तिम दुई खेलहरु मध्ये एक खेलमा साविक विजेता मच्छिन्द्रले जित हात पार्दा अर्को खेलमा संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफ फुटबल क्लबमाथि २–१ को जित निकाल्यो । खेलको ३६औं मिनटमा एपिएफले अर्मान्ड बिडुमको गोलबाट अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पराजय बेहोर्न बाध्य बन्यो ।

पहिलो हाफ कै अतिरिक्त समयमा ओमोलजा करिमले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए । निर्णायक गोल भने दोस्रो हाफमा सम्भव भयो । ९०औं मिनटमा ओलावाले आफिजले मच्छिन्द्रका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

यो जितपछि १५ खेलबाट २४ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । र लिगलिडर चर्च ब्वाईज भन्दा ३ अंकले मात्र पछाडी छ । उता पराजित एपिएफ भने १९ अंकका साथ नवौं स्थानमा झरेको छ ।

आर्मी र संकटाले अंक बाँडे

एन्फा कम्प्लेक्स्मा भएको अर्को खेलमा आर्मीले खेलको अन्तिम केही मिनट सम्हालिन नसक्दा १–१ को बराबरी खेल्दै अंक गुमाउन पुग्यो । खेलको १७औं मिनटमा भरत खवासको गोलबाट विभागीय टोलीले खेलमा अग्रता लिएको थियो । तर खेलको अन्तिमतिर इन्जुरी समयमा युसेफ एट्रिसले संकटाका लागि पेनाल्टीमार्फत बराबरी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि १५ खेलबाट २१ अंक जोडेको आर्मी लिगतालिकाको छैठौं स्थानमा छ । उता संकटा भने १७ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments