News साफ च्याम्पियनसिपको ड्र जेठ ३ गते
गोलनेपाल

काठमाडौं । अर्को महिना हुन गईरहेको प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपको फाइनल ड्र जेठ ३ गते (मई १७ तारीख) का दिन भारतको नयाँ दिल्लीमा निकालिने भएको छ ।

यसबारे दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सूचना प्रकाशित गरि सम्बन्धित सबैलाई जानकारी समेत गराएको छ । साफका अनुसार फाइनल ड्र जेठ ३ गते स्थानीय समयअनुसार १२ः३० बजे निकालिने जानकारी गराइएको छ ।

स्मरण रहोस, जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुने तय भएको साफ च्याम्पियनसिपमा यसपटक दुई आमन्त्रित टोली कुवेत र लेबनानसहित दक्षिण एसियाका ६ टोलीहरुले सहभागिता जनाउने छन् । जसमा आयोजक भारत, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान सँगै माल्दिभ्स रहेका छन् । श्रीलंका भने हाल फिफाको प्रतिबन्धमा छ ।

आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । माल्दिभ्समा सम्पन्न गत संस्करणको फाइनलभा भारतले नेपाललाई हराउँदै किर्तिमानी आठौंपटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको थियो ।

Post Comments