News लिगमा आज तीन खेलः पुछारका तीन टोलीलाई अवसर
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको १७औं चरणको खेलतर्फ शुक्रबार तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा तीन बजेदेखि शुरु हुने खेलमा संकटा र पुछारको नेपाल पुलिस क्लब भिड्दै छन् ।

स्टार खेलाडीहरुले भरिएर पनि लिगमा पछिल्लो समय लय गुमाएको संकटा १६ खेलबाट २० अंकका साथ दशौं स्थानमा छ । अहिलेसम्म ५ जित हात पारेको संकटा आज छैठौं जित निकाल्दै लिगतालिकामा स्थान सुधारको प्रयासमा हुनेछ । उता १६ अंकका साथ पुछारमा रहेको पुलिसलाई पनि आज आफु अनुकुल नतिजा निकाल्दै रेलिगेशन क्षेत्रबाट उम्किने अवसर पनि छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा दिनको ३ बजेदेखि शुरु हुने अर्को खेलमा हिमालयन शेर्पा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् । हाल २० अंकका साथ आठौं स्थानमा रहेको मनाङको लक्ष्य पनि आज जित निकाल्दै शिर्ष पाँचमा आफ्नो चुनौतिलाई बलियो बनाउनु हुनेछ । त्यसो हुन सकेमा मनाङको शिर्षताको होड पनि कायम रहनेछ । यद्यपि समान २० अंकका साथ नवौं स्थानमा रहेको शेर्पालाई हराउनु मनाङलाई त्यति सहज भने हुने छैन ।

दिनको अन्तिम खेलमा साँझ ६ बजेदेखि एनआरटी र एफसी खुमलटार भिड्ने कार्यक्रम छ । लिगतालिकामा हाल १७ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको खुमलटार र १८ अंकका साथ एक स्थान माथि १२औं स्थानमा रहेको एनआरटीका लागि आजको खेल उत्तिकै महत्वपूर्ण रहने निश्चित छ ।

Post Comments