News वडाले गर्यो प्रशिक्षणका लागि खेल सामाग्री सहयोग
गोलनेपाल

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ले ग्रासरूट कार्यक्रम अन्तर्गत फुटबल प्रशिक्षण लिइरहेका बालबालिकाहरूलाई खेल सामाग्री वितरण गरेको छ । चन्द्रपुर ४ मा रहेको तुलसीलाल स्मृति खेल मैदानमा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष अमर आलेले खेल सामाग्रीहरू हस्तान्तरण गरे ।

वडाअध्यक्ष आलेले ग्रासरूट प्रशिक्षकहरू सोनम लामा तथा सुजन तिमल्सिना तथा खेलाडीहरूलाई खेल सामाग्रीहरू हस्तान्तरण गरेका थिए । सो अवसरमा वडाअध्यक्ष आलेले आजका बालबालिकाले राम्रो प्रशिक्षण पाएमा भविष्यमा राम्रो खेलाडी बनेर नगर र देशकै नाम उच्च पार्ने भन्दै उनीहरूलाई नियमित प्रशिक्षणको व्यवस्था मिलाउन चन्द्रपुर नगरपालिकाले पहल गर्ने बताए ।

ग्रासरूट प्रशिक्षणमा रहेका खेलाडीहरूलाई कहिले पनि खेल सामाग्रीको अभाव हुन नदिने भन्दै उनले यहाँ प्रशिक्षण लिएका बालबालिका भोलीका दिनमा राष्ट्रिय टिमबाट खेलेको हेर्न पाउनेमा विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा चन्द्रपुर नगर कार्यपालिका सदस्य काजीमान माझी, रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धिताल, पुर्व खड्ग आले, रौतहट महिला टिमका कप्तान मेनुका नगरकोटी लगायतको उपस्थिति रहेको थियोे ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को सहयोगमा हाललाई ३० वटा फुटबल, विप्स, कोन, नेट, गोलपोष्ट लगायतका खेल सामाग्रीहरू उपलब्ध भएको ग्रासरूट प्रशिक्षक सुजन तिमल्सिनाले बताए । उनले खेल सामाग्रीको अभावमा बन्द हुन लागेको प्रशिक्षण अब खेल सामाग्री पाएपछि नियमित संचालन हुने भन्दै खुशी व्यक्त गरे ।

हाल १३ वर्ष उमेर सम्मका करिब ८० जना बालबालिकाले नियमित प्रशिक्षण लिने गरेका अर्का प्रशिक्षक सोनम लामाले जानकारी दिए । उमेर समूह देखिनै राम्रा र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य सहित अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफू मातहतका जिल्लाहरुमा ग्रासरूट कार्यक्रम ल्याएको छ ।

Post Comments