News जितका साथ थ्रीस्टारको लिग समापन
गोलनेपाल

काठमाडौं । रुस्लान थ्रीस्टार क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा जितका साथ लिगको समापन गरेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० ले हरायो । खेलमा थ्रीस्टारले सबै दुवै गोल दोस्रो हाफमा गर्न सफल भयो ।

६९औं मिनटमा लालरमवाले थ्रीस्टारका लागि पहिलो गोल गरे । निशान खड्काको फ्रिकिक पासलाई उनले सदुपयोग गर्दै थ्रीस्टारका लागि गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो गोल भने अनन्त तामाङले ८८औं मिनटमा पेनाल्टीबाट गरे ।

यो जितपछि १३ खेलबाट थ्रीस्टारको २६ अंक भएको छ । र, उता आज नै हुने अर्को खेलमा मनाङले जावलाखेलसँग हार बेहोरे थ्रीस्टारले लिगको तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गर्ने अवसर पाउनेछ ।

तत्कालका लागि पनि थ्रीस्टारले मनाङलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । मनाङको १२ खेलबाट २५ अंक छ र यदि मनाङले जावलाखेललाई हराएको खण्डमा फेरि तेस्रो स्थानमा रहेर लिगको समापन गर्न सफल हुनेछ ।

उता पराजित च्यासल भने १३ खेलबाट १५ अंकका साथ नवौं स्थानमा रहेर लिगको समापन गरेको छ । खेलमा थ्रीस्टारका लागि शुरुवाती गोल गरेका लालरमवा खेलको म्यान अफ द म्याच घोषित भए ।

Post Comments