
दार्जीलिङको पाहुना टोली युकेएफसीलाई पहिलो चरणमै पराजित गर्दै इलामको रेडहर्ष एफसी यहाँ जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा प्रवेश गर्ने इलाम तेस्रो टोली हो । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा इलामले युकेएफसीमाथि २-० गोलअन्तरमा जित निकालेको हो । इलामले पहिलो हाफ र दोस्रो हाफमा समान १-१ गोल गरेको हो । इलामका लागि पहिलो गोल विदेशी खेलाडीले गरेका हुन् ।
खेलको ४ मिनेटमै नेपोलियनले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन् । युकेएफसीका गोलकिपर विनेम प्रधान अघि बढेको बेला नेपोलियनले सिधै रित्तो पोष्टमा गोल गरे । नेपोलियनको प्रहार करिब ३० यार्डको दूरीबाट थियो । इलामका लागि दोस्रो गोल निपेश श्रेष्ठले गरेका हुन् । खेलको ५९औँ मिनेटमा निपेशले गोल गर्दै इलामको अग्रता दोब्बर बनाए । युकेएफसीले खेल प्रदर्शन राम्रै गरे पनि आक्रमण बुन्न सकेन । केही आक्रमण इलामका गोलकिपर विवेक मगरले बचाएका थिए । खेलको म्यान अफ दी म्याच इलामका निपेश श्रेष्ठ बने । उनलाई आयोजकको तर्फबाट नगद ३ हजार र ट्रफी प्रदान गरियो ।
भोलि (मंगलबार) प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा जनसहयोग युथ क्लब मोरङले सप्तरीको नव बुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।
गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।