News शिर्ष तीनमा मच्छिन्द्र, संकटतर्फ संकटा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएको दुई खेलहरु मध्ये एक खेलमा साविक विजेता मच्छिन्द्रले महत्वपूर्ण जित हात पार्दा संकटा क्लबले सिजनको छैठौं बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मच्छिन्द्रले पुछारमा संघर्षरत टोली एफसी खुमलटारमाथि ३–० को उत्कृष्ट जित हात पार्यो । मच्छिन्द्रको जितमा तीनै गोल विदेशी खेलाडीको नाममा रह्यो । ४२औं मिनटमा आन्द्रेस निआको गोलबाट अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफको अन्तिमतिर थप दुई गोल गर्न सफल भएको थियो । ७७ र ८३औं मिनटमा ओलावाले आफिजले लगातार दुई गोल गर्दै मच्छिन्द्रको जित पक्का गरेका थिए ।

यो जितपछि मच्छिन्द्र १८ खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । र, लिगलिडर जावलाखेलभन्दा एक अंकले मात्र पछाडी छ । साथै उपाधि होडमा आफूलाई पनि सामेल गर्न सफल भएको छ । त्यस्तै पराजित खुमलटार भने १७ अंकका साथ पुछार मै संघर्षरत छ ।

त्यस्तै दशरथ रंगशाला भएको खेलमा संकटा क्लबले सम्भावित हारबाट जोगिंदै हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेलेर अंक बाँड्यो । ४९औं मिनटमा म्यानुअल नानाको गोलबाट शेर्पाले खेलमा अग्रता बनाए पनि ७३औं मिनटमा आयुष घलानले पेनाल्टीबाट संकटाका लागि बराबरी गोल फर्काएका थिए ।

यो नतिजापछि १८ खेलबाट २१ अंक जोडेको संकटा रेलिगेशन क्षेत्रभन्दा दुई स्थानमाथि ११औं स्थानमा छ । रेलिगेशन क्षेत्रको टोली नेपाल पुलिस क्लबभन्दा २ अंकले अगाडी छ । उता शेर्पा भने २२ अंकका साथ नवौं स्थानमा छ ।

 

Post Comments