News चर्च ब्वाईज टेबल टपर्स, शिर्ष दशमा पुलिस, थ्रीस्टार रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार भएका तीन खेलहरु मध्ये एकमा महत्वपूर्ण जित निकाल्दै चर्च ब्वाईज युनाइटेडले शिर्ष स्थानमा कब्जा जमाएको छ । दशरथ रंगशालामा भएको महत्वपूर्ण खेलमा चर्च ब्वाईजले परस्पर प्रतिद्वन्द्वी सातदोबाटो युथ क्लबमाथि १–० को जित निकाल्दै शिर्ष स्थानमा उक्लेको हो ।

दोस्रो हाफको ६२औं मिनटमा सुवास गुरुङले गरेको एक मात्र गोल चर्च ब्वाईजलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितपछि १८ खेलबाट ३३ अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा उक्लेको छ । ३१ अंकका साथ जावलाखेल दोस्रो स्थानमा छ । पराजित सातदोबाटो भने २६ अंकका साथ पाँचौं स्थानमा छ ।

पुलिसलाई राहत, थ्रीस्टार रोकियो

त्यस्तै च्यासल स्टेडियममा भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लबले एपिएफ फुटबल क्लबमाथि १–० को जित निकाल्यो । ६१औं मिनटमा मोसेस ट्वुमले गरेको एक मात्र गोल पुलिसलाई महत्वपूर्ण जित दिलाउन पर्याप्त बन्यो ।

यो जितपछि १८ खेलबाट २२ अंक जोडेको पुलिसले एपिएफलाई पछि पार्दै लिगतालिकाको दशौं स्थानमा उक्लेको छ । पराजित एपिएफ भने समान २२ अंकका साथ ११औं स्थानमा झरेको छ ।

त्यसैगरी दशरथ रंगशालामै भएको दिनको पहिलो खेलमा दुई हेभिवेट टोली थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा थ्रीस्टारले अंक बाँड्न बाध्य बन्यो ।

६८औं मिनटमा लाकेन लिम्बुले गरेको सनसनीपुर्ण गोलको सहयोगमा थ्रीस्टारले अग्रता लिएको थियो । तर ८५औं मिनटमा दिनेश हेन्जनले आर्मीका लागि बराबरी गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए ।

यो नतिजापछि १८ खेलबाट २६ अंक जोडेको थ्रीस्टार लिगतालिकाको चौथो स्थानमा छ । उता आर्मी भने २५ अंकका साथ छैठौं स्थानमा छ ।

Post Comments