News दुई फरक चारदेशीय कप खेल्दै भारत र पाकिस्तान
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको भारत र पाकिस्तानले दुई फरक चारदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएका छन् ।

जुन २१ तारीखदेखि बैंगलोरमा शुरु हुन गईरहेको साफ च्याम्पियनसिप अन्तरगत नेपाल कै समूह ए मा रहेको भारत र पाकिस्तानले साफ अघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् ।

भारतले वार्षिक रुपमा घरेलु मैदान मै आयोजना गर्दै आईरहेको इन्टरकन्टिनेन्टल कप खेल्ने भएको छ । जुन ९ देखि १८ तारीखसम्म भुवनेश्वरमा हुने प्रतियोगितामा भारतसँगै लेबनान, भानुआतु र मंगोलियाले प्रतिस्पर्धा गर्नेछन् । स्मरण रहोस, इन्टरकन्टिनैन्टल कप खेल्ने लेबनानले भने साफ च्याम्पियनसिपमा पनि सहभागिता जनाउने तय भईसकेको छ ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा समूहको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

पाकिस्तानले मौरिससमा खेल्ने

त्यसैगरी पाकिस्तानले मौरिससमा चारदेशी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तय भएको छ । १० जुनदेखि १८ जुनसम्म हुने प्रतियोगितामा पाकिस्तान र आयोजक मौरिसससँगै अन्य दुई अफ्रिकी राष्ट्र कैन्या र जिबुटीले प्रतिस्पर्धा गर्नेछन् ।

जुन २१ देखि जुलाई ४ तारीखसम्म हुन गईरहेको १४औं साफ च्याम्पियनसिपतर्फ समूह ए मा आयोजक भारत, नेपाल, पाकिस्तानसँगै आमन्त्रित टोली कुवेत रहेको छ भने समूह बी मा आमन्त्रित टोली लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

स्मरण रहोस, साफ अघि नेपालले १५ जुनका दिन मनिलामा फिलिपिन्ससँग एक मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

Post Comments