News आर्मीको जित, चर्च ब्वाईज रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएका दुई खेलहरु मध्ये एक खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले प्रभावशाली जित हात पार्दा अर्को खेलमा लिगलिडर चर्च ब्वाईज युनाइटेड बराबरीमा रोकिएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले रेलिगेशन क्षेत्रमा संघर्षरत टोली फ्रेण्डस क्लबमाथि ३–० को जित निकाल्यो । आर्मीका लागि २६औं मिनटमा जगजित श्रेष्ठले गोलको खाता खोलेका थिए । पहिलो हाफसम्म आर्मीले १–० कै अग्रता कायम पनि राख्यो ।

दोस्रो हाफको ७५औं मिनटमा नवयुग श्रेष्ठले आर्मीका लागि पेनाल्टीबाट दोस्रो गोल थपे । त्यस्तै इन्जुरी समयमा सुदिल राईले तेस्रो गोल गर्दै विभागीय टोलीको उत्कृष्ट जित पक्का गरे । खेलमा फ्रेण्डसले पनि गोलको अवसर पाएको थियो । फ्रेण्डसका डोना थापाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा फ्रेण्डस चुकचुकाउनु परेको थियो ।

यो नतिजापछि २० खेलबाट २९ अंक जोडेको आर्मी पाँचौं स्थानमा छ । उता पराजित फ्रेण्डस भने २१ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्षरत छ ।

चर्च ब्वाईज र शेर्पाको बराबरी

त्यस्तै च्यासल स्टेडियममा भएको खेलमा लिगलिडर चर्च ब्वाईज युनाइटेडले हिमालयन शेर्पा क्लबसगँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । १३औं मिनटमा अन्जन बिष्टको गोलबाट अग्रता लिएको चर्च ब्वाइजले त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुगेको थियो ।

३६औं मिनटमा आबायोमी फाकुन्लेले शेर्पाका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । यो नतिजापछि २० खेलबाट ३७ अंकका साथ शिर्ष स्थान मै रहे तापनि चर्च ब्वाईजले अंक दुरी बढाउने अवसर गुमाएको छ ।

अब दोस्रो स्थानमा रहेको मच्छिन्द्रभन्दा चर्च ब्वाईज तीन अंकले मात्र अगाडी छ । साथै यो नतिजाले मच्छिन्द्रलाई पनि शिर्षताको होडमा प्रवेश गर्न थप सहज बनेको छ । उता चर्च ब्वाईजलाई बराबरीमा रोकेको शेर्पा भने २६ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments