News शिर्ष दशभित्र उक्लियो पुलिस, खुमलटारको जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार भएको २०औं चरणको अन्तिम दुई खेलहरुमा पुछारतिरका दुई टोलीहरु नेपाल पुलिस क्लब र एफसी खुमलटारले महत्वपूर्ण जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले पछिल्लो समय संघर्षरत टोली थ्रीस्टार क्लबमाथि शून्यका विरुद्ध १ गोलको जित हात पार्यो । पहिलो हाफको २७औं मिनटमा लेबनानी स्टार अहमद हिजाजीले गरेको एक मात्र गोल विभागीय टोलीलाई जित दिलाउन निर्णायक बन्यो ।

यो जितपछि २० खेलबाट २५ अंक जोडेको पुलिस सनसनीपूर्ण रुपमा लिगतालिकाको आठौं स्थानमा उक्लेको छ । उता छैठौं हार बेहोरेको थ्रीस्टार २६ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ । र पुलिसभन्दा एक अंकले मात्र अगाडी छ ।

त्यस्तै दशरथ रंगशालामा भएको अर्को खेलमा पुछारको टोली एफसी खुमलटारले सातदोबाटो युथ क्लबमाथि १–० को स्तब्धपूर्ण नतिजा निकाल्यो । ३७औं मिनटमा मेसुके ओलुमुले गरेको एक मात्र गोल खुमलटारलाई लिगको छैठौं जित दिलाउन पर्याप्त बन्यो ।

जितका बावजुद २० खेलबाट २१ अंक जोडेको खुमलटार लिगतालिकाको पुछार मै छ । यद्यपि रेलिगेशन क्षेत्रबाट बाहिरिने आफ्नोसम्भावनालाई कायम राखेको छ । उता पराजित सातदोबाटो भने २९ अंकका साथ चौथो स्थान मै यथावत छ ।

Post Comments