News फ्रेण्डसले जित्दा रेलिगेशन क्षेत्रमा संकटा, मनाङको फेरि बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार फ्रेण्डस क्लबले सातदोबाटो युथ क्लबमाथि ४–० को प्रभावशाली जित हात पार्दा मनाङ मस्र्याङ्दी क्लबले सिजनको दशौं बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्डसका लागि पहिलो मिनट मै रफिक अमिनुले गोलको खाता खोलेका थिए । पहिलो हाफसम्म १–० को अग्रता कायम राखेको फ्रेण्डसले दोस्रो हाफमा भने थप तीन गोल थप्यो ।

५५औं मिनटमा प्रकाश बुढाथोकीले फ्रेण्डसका लागि दोस्रो गोल गरे भने ८७ र ९०औं मिनटमा टोरिक जेब्रिनले लगातार दुई गोल गर्दै पाटने क्लबको जित सुनिश्चित गरे ।

यो जितपछि २१ खेलबाट २४ अंक जोडेको फ्रेण्डस रेलिगेशन क्षेत्र छाड्दै एक स्थानमाथि १२औं स्थानमा उक्लेको छ । यो नतिजाले २३ अंक जोडेको संकटा भने रेलिगेशन क्षेत्रको १३औं स्थानमा खस्केको छ । त्यस्तै फ्रेण्डससँग पराजित सातदोबाटो भने २९ अंकका साथ चौथो स्थानमा छ ।

त्यसैगरी च्यासल स्टेडियममा भएको अर्को खेलमा मनाङले लिगलिडर चर्च ब्वाईज युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो बराबरी नतिजापछि २१ खेलबाट ३८ अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा यथावत छ । मनाङ भने २५ अंकका साथ ११औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली संकटा भन्दा दुई अंकले मात्र अगाडी छ ।

 

Post Comments