News संकटासँग चर्च ब्वाईज निराश, जावलाखेल पनि स्तब्ध, मच्छिन्द्र र आर्मीको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ २२औं चरणका शुरुवाती तीन खेलहरुमध्ये दुई खेलमा शिर्ष तीनका दुई टोलीहरु पराजित भएका छन् । दशरथ रंगशालामा साँझ भएको दिनको अन्तिम खेलमा खराब लयबाट गुज्रिरहेको संकटा क्लबले लिगलिडर चर्च ब्वाईज युनाइटेडमाथि १–० को सनसनीपूर्ण जित निकाल्यो ।

दोस्रो हाफको ६९औं मिनटमा युसेफ एट्रिसले गरेको एक मात्र गोल संकटालाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै २२ खेलबाट २६ अंक जोडेको संकटा ११औं स्थानमा उक्लेको छ । साथै संकटाको यो जितले मनाङ मस्र्याङ्दी क्लब भने रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १२औं स्थानमा खस्किएको छ । उता पराजित चर्च ब्वाईज भने ३८ अंकका साथ शिर्ष स्थानमै यथावत छ ।

त्यस्तै दशरथ रंगशालामा मै भएको अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले तेस्रो स्थानको टोली जावलाखेल युथ क्लबमाथि २–० को जित निकाल्यो । एपिएफका लागि २२औं मिनटमा अर्मान्ड बिडुम र पहिलो हाफ कै अतिरिक्त समयमा आवास लामिछानेले गोल गरे ।

यो जितपछि २२ खेलबाट २९ अंक जोडेको एपिएफ छैठौं स्थानमा उक्लेको छ । पराजित जावलाखेल भने ३४ अंकका साथ तेस्रो स्थान मै छ । र लिगलिडर चर्च ब्वाईजसँगको दुरी छोट्याउन पनि असफल भएको छ ।

त्यस्तै च्यासल स्टेडियममा भएको हेभिवेट भिडन्तमा दोस्रो स्थानको टोली मच्छिन्द्र फुटबल क्लब र त्रिभुुवन आर्मी फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको १७औं मिनटमा दिनेश हेन्जनको गोलबाट आर्मीले खेलमा अग्रता बनाए तापनि दोस्रो हाफतर्फ ६०औं मिनटमा युद्ध शाहीले आत्मघाती गोल गर्दा आर्मी जित हात पार्नबाट चुकेको थियो ।

यो नतिजापछि २२ खेलबाट ३६ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थान मै यथावत छ । र लिगलिडर चर्च ब्वाईभन्दा २ अंकले मात्र पछाडी छ । उता आर्मी भने ३० अंकका साथ चौथो स्थानमा छ ।

Post Comments