News मनाङको जित, एनआरटीसँग सातदोबाटो निराश
गोलनेपाल

बाठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार भएका दुई महत्वपूर्ण खेलमा निश्चित जितको नतिजा निस्किएको छ । जसअन्तरगत एन्फा कम्प्लेक्समा भएको खेलमा लगातार जितविहीन मनाङ मस्र्याङ्दी क्लबले सिजनको छैठौं जित हात पार्ने क्रममा चिरप्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई १–० ले हरायो ।

पहिलो हाफको ३८औं मिनटमा अनुभवी डिफेन्डर चेतन कुमार थारुले गरेको एक मात्र गोल मनाङलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । युवा प्रशिक्षक बिष्णु गुरुङको नेतृत्वमा पहिलो जित हात पारेको मनाङले यो जितसँगै २२ खेलबाट २८ अंक जोड्दै १०औं स्थानमा उक्लेको छ । उता पराजित थ्रीस्टार भने २६ अंकका साथ ११औं स्थानमा झरेको छ ।

त्यस्तै च्यासल स्टेडियममा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि २–१ को जित निकाल्यो । एनआरटीको जितमा ६९औं मिनटमा निकोलास संग र ७३औं मिनटमा सनम लिम्बुले गोल गरे । उता पराजित सातदोबाटोका लागि ८४औं मिनटमा शिव सुवेदीले एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

यो नतिजापछि २२ खेलबाट २९ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लेको छ । साथै रेलिगेशनको त्रासबाट पनि मुक्त भएको छ । उता पराजित सातदोबाटो भने समान २९ अंकका साथ छैठौं स्थानमा झरेको छ ।

 

Post Comments