News सताक्षी गोल्डकप शुरु, उद्घाटन खेलमै मनाङ स्तब्ध
गोलनेपाल

झिलझिले । घरेलु फुटबलको परिचित र सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लब झापामा शुरु तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमै पराजित भएको छ ।

उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग पाहुना टोली मनाङ १–० को झिनो अन्तरले स्तब्ध भएको हो । जीतसँगै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजकका लागि मनिष थापाले गरेको गोल नै निर्णायक बन्यो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकका लागि ५०औँ मिनेटमा मनिष थापाले गोल गरेका थिए । आशिष राईको क्रस पासमा थापाले बललाई जाली चुमाएका थिए ।

खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता मनिष थापा घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्तरगत फागुन ५ गतेको खेल रुस्लान थ्रीस्टार क्लब र बेलबारी एफसी, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताका विजेताले उपाधिसहित नगद ६ लाख नगद हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । आर्थिक संयोजक इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जीलिङको एमएफसीले सहभागिता जनाउने आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए ।

गोल्डकपको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले एक कार्यक्रमका बीच गरेका थिए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको थियो ।

Post Comments