News लिगमा २४औं चरणको खेल आजदेखि, चर्च ब्वाईज, आर्मी, थ्रीस्टारको खेल आजै
गोलनेपाल

काठमाडौं । समापनको संघार नजिक पुगेको शहिद स्मारक ए डिभिजन लिगमा शनिबारदेखि शुरु हुन गईरहेको २४औं चरणको शुरुवाती तीन खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबसँग खेल्ने कार्यक्रम छ ।

२३ खेलबट ३० अंकका साथ छैठौं स्थानमा रहेको आर्मी र २९ अंकका साथ नवौं स्थानमा रहेको सातदोबाटोबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने निश्चित छ । शिर्ष तीनको होडबाट बाहिरिएको आर्मी शिर्ष पाँचमा रहेर लिग समापन गर्न चाहन्छ । उता सातदोबाटोको पनि शिर्ष पाँचमा रहेर लिग समापन गर्ने अवसर यथावत रहेकाले त्यसका लागि टोलीले निश्चित जित हात पार्न आर्मीलाई कडा चुनौति दिने अनुमान गरिएको छ ।

त्यस्तै ३ बजेदेखि नै दशरथ रंगशालामा हुने अर्को खेलमा संंघर्षरत टोली थ्रीस्टार क्लबले नेपाल एपिएफ फुटबल क्लबसँग खेल्दैछ । हाल २३ खेलबाट २७ अंकका साथ ११औं स्थानमा रहेको थ्रीस्टार रेलिगेशन क्षेत्रबाट दुई स्थान माथि मात्र छ । उता २९ अंकका साथ एपिएफ भने आठौं स्थानमा छ । थ्रीस्टारलाई रेलिगेशनको त्रासबाट जोगिनुपर्ने दबाब छ भने एपिएफलाई शिर्ष पाँचमा उक्लिने अवसर ।

त्यसैगरी दिनको अन्तिम खेलमा बेलुका ६ बजेदेखि दशरथ रंगशालामा लिगलिडर चर्च ब्वाईज युनाइटेड र तेस्रो स्थानको टोली जावलाखेल युथ क्लब भिड्दै छन् । ४१ अंकका साथ शिर्ष स्थानमा रहेको चर्च ब्वाईजले आज जित हात पार्न सके लिग उपाधि होडमा आफ्नो पकड बलियो बनाउनेछ । उता ३७ अंकका साथ तेस्रो स्थानमा रहेको जावलाखेल भने चर्च ब्वाईजलाई रोक्दै उपाधि होडमा आफ्नो सम्भावनालाई पनि कायम राख्ने योजनाका ासथ मैदानमा उत्रिनेछ ।

Post Comments