News खुमलटारको जोगिने सम्भावना कायमै, थ्रीस्टारलाई अन्तिम खेल नै निर्णायक, शिर्ष तीनमा पुलिस
गोलनेपाल

काठमाडौं । मंगलबार नवप्रवेशी टोली चर्च ब्वाईज युनाइटेड एक खेल अगावै ए डिभिजन लिगको च्याम्पियन्स बन्दा अर्को नवप्रवेशी टोली खुमलटारले भने रेलिगेशन क्षेत्रबाट जोगिने आफ्नो सम्भावना कायम राखेको छ ।

च्यासल स्टेडियममा भएको महत्वपूर्ण खेलमा खुमलटारले एपिएफलाई ३–१ ले हरायो र खातामा महत्वपूर्ण तीन अंक जोड्यो । खुमलटारका लागि खेलको दशौं मिनटमा र पहिलो हाफ कै अतिरिक्त समयमा गरी मेसुके ओलुमुले दुई गोल गरे ।

त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा स्टेफन बिनङले तेस्रो गोल थपे । उता पराजित एपिएफका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा सनिष श्रेष्ठले एक गोल फर्काए तर टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो नतिजापछि २५ खेलबाट २७ अंक जोडेको खुमलटार रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ । र, मंगलबार नै चर्च ब्वाईज युनाइटेडसँग गोलरहित बराबरी खेलेको थ्रीस्टार भन्दा दुई अंकले पछाडी छ । एक खेल कम खेलेको फ्रेण्डस २६ अंकका साथ पुछारमा छ ।

त्यसैगरी एक–एक खेल कम खेलेको संकटा र एनआरटी पनि समान ३०–३० अंकका साथ क्रमशः १०औं र ११औं स्थानमा छन् । यस अर्थमा पुछारका दुई टोली खुमलटार र फ्रेण्डसको रेलिगेशनबाट जोगिने सम्भावना कायम छ । १२औं स्थानमा रहेको थ्रीस्टार रेलिगेशन क्षेत्रबाट बाहिर रहे तापनि पाटने क्लबलाई रेलिगेशनको त्रास कायम छ र जोगिन पनि अन्तिम खेल नै निर्णायक हुने देखिएको छ ।

विभागीय भिडन्त बराबरीमा, सातदोबाटोको जित

त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा भएको विभागीय भिडन्तमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको दोस्रो मिनट मै दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले त्यसलाई पहिलो हाफ मै गुमाउन पुग्यो । ३७औं मिनटमा पुलिसका लागि अहमद हिजाजीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि २५ खेलबाट ३८ अंक जोडेको पुलिस तेस्रो स्थानमा उक्लिएको छ । र शिर्ष तीनमा रहेर लिग समापन गर्ने सम्भावना पनि बलियो बनाएको छ । उता आर्मी भने ३१ अंकका साथ सातौं स्थानमा छ ।

त्यसैगरी मंगलबार नै दशरथ रंगशालामा भएको अन्तिम खेलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । खेलको ७४औं मिनटमा सरदोरबेक मतमुरातोवले गरेको एक मात्र गोल सातदोबाटोलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि २५ खेलबाट ३५ अंक जोडेको सातदोबाटो पाँचौं स्थानमा उक्लेको छ । उता पराजित जावलाखेल भने ३७ अंकका साथ एक स्थानमाथि चौथो स्थानमा छ ।

Post Comments