News मच्छिन्द्रको दोस्रो स्थान पक्का, संकटा जोगियो, मनाङको हार
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ गत संस्करणको विजेता मच्छिन्द्र फुटबल क्लबले बुधबार प्रभावशाली जितका साथ दोस्रो स्थान पक्का गरेको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो ।

मच्छिन्द्रले खेलको २६औं मिनटमा बिमल घर्ती मगरको गोलबाट खेलमा अग्रता लिएको थियो । त्यसपछि दुवै तर्फबाट भएका थप तीन गोलहरु भने दोस्रो हाफमा सम्पन्न भए । खेलको ६८ ७७औं मिनटमा आफिज ओलावालेले मच्छिन्द्रका लागि लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरे । आफिजले दोस्रो पेनाल्टीबाट गरेका थिए ।

उता शेर्पाका लागि खेलको अन्तिमतिर मुतम्बा पिस्टनले एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन सकेनन् । यो नतिजापछि २५ खेलबाट ४२ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । र लिगको अन्तिम खेलपछि पनि दोस्रो स्थान मै रहेर सिजनको समापन गर्ने निश्चित भएको छ । शिर्ष स्थानमा भने ४५ अंकका साथ लिगविजेता चर्च ब्वाईज युनाइटेड छ । उता पराजित शेर्पा भने ३१ अंकका साथ १०औं स्थानमा छ ।

संकटा जोगियो, मनाङको हार

त्यस्तै बुधबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा रेलिगेशनको त्रासमा रहेको संकटालाई राहत मिलेको छ । संकटाले फ्रेण्डससँग १–१ गोलको बराबरी खेल्दै कम्तिमा रेलिगेशनबाट जोगिने पक्का बन्यो ।

खेलको ५३औं मिनटमा टोरिक जेब्रिनको गोलबाट फ्रेण्डसले खेलमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । उता ७०औं मिनटमा जुनियर एन्केंगुले संकटाका लागि बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका थिए ।

यो नतिजापछि २५ खेलबाट ३१ अंक जोडेको संकटा नवौं स्थानमा उक्लेको छ । र रेलिगेशनको त्रासबाट जोगिएको छ । उता महत्वपूर्ण तीन अंक गुमाउन पुगेको फ्रेण्डस भने २७ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ । टोलीलाई रेलिगेशनबाट जोगिन लिगको अन्तिम खेल नै निर्णायक बनेको छ ।

त्यसैगरी च्यासल स्टेडियममा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले न्युरोडटिमसँग १–० को हार बेहोरेको छ । खेलको १७औं मिनटमा दिपेश आले मगरले गरेको एक मात्र गोल टोलीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

यो जितपछि २५ खेलबाट ३३ अंक जोडेको न्युरोडटिम छैठौं स्थानमा उक्लेको छ । उता पराजित मनाङ भने ३२ अंकका साथ सातौं स्थानमा छ ।

लिगमा २५औं चरणको खेलहरु समाप्ती पश्चात् फ्रेण्डस, खुमलटार, थ्रीस्टार र एपिएफको रेलिगेशनबाट जोगिने र रेलिगेशनमा पर्ने स्म्भावना कायम छ ।

Post Comments