News होराईजन फाइनलमा, उपाधिका लागि रड्स रामपुरसँग भिड्ने
सुरज राना मगर

तानसेन । होराईजन फुटबल क्लब, वालिङ, स्याङ्जा यहाँ जारी कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलतर्फ होराईजनले द फेमस महिन्द्र दल गण, पाल्पालाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

टुंडिखेल मैदानमा भएको खेलको सातौं मिनट मै टिकाराज गुरुङको गोलबाट होराईजनले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफको अन्तिमतिर ८१औं मिनटमा विवके चौधरीले दोस्रो गोल गर्दै स्याङ्जाली टोलीको जित पक्का गरेका थिए ।

खेलमा होराईजनका पहिलो गोलकर्ता टिकाराज गुरुङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । होराईजनले जेठ २७ गते शनिबारका दिन हुने फाइनलमा रड्स रामपुर एफसी, चितवनसँग उपाधिका लागि भिड्ने खेल संयोजक करन चित्रकारले जानकारी दिए । रड्स रामपुरले मंगलबार भएको पहिलो सेमिफाइनलमा फोर ब्रदर्श एफसी, नवलपरासीलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको खेल संयोजक चित्रकारले बताए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २७ गतेका दिन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले जानकारी दिए ।

 

 

 

Post Comments