News रडस रामपुरलाई कर्णेल उजिर सिंह पाल्पा गोल्डकपको उपाधि
सुरज राना मगर

तानसेन । कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि रड्स रामपुर एफसी, चितवनले जितेको छ । शनिबार सम्पन्न फाइनलमा रड्स रामपुरले होराईजन एफसी, वालिङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

टुंडिखेल मैदानमा भएको खेलमा रड्स रामपुरका लागि दुवै गोल विकी चाम्लिङ राईले गरे । राईले खेल शुरु भएको तेस्रो मिनट मै पहिलो गोल गरेका थिए भने ४७औं मिनटमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

विजेता बनेको रड्स रामपुरले पाल्पाली करुवाको आकर्षक ट्रफीसहित नगद ३ लाख हात पार्यो भने उपविजेता होराईजनले नगद १ लाख ५० हजारसहित आकर्षक करुवा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

रड्सका जितेश सर्वोत्कृष्ट खेलाडी

त्यस्तै रड्स रामपुरका जितेश गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत नगद ६ हजारसहित ट्रफी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच पनि रड्स रामपुर कै अमृत गुरुङ घोषित भए । त्यसवापत उनले नगद ३ हजार र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक रड्सका सरोज तामाङ चुनिए भने उत्कृष्ट डिफेन्डर होराईजनका राजेन्द्र श्रेष्ठ घोषित भए । प्रतियोगिताभरि कुल ८ गोल गरेका रड्स रामपुरका विकी चाम्लिङ राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । उदियमान खेलाडी पाल्पा–११ का आशिष राना घोषित हुँदा फेयर प्ले पुरस्कार न्यु युथ युनियन क्लब, पाल्पाले हात पार्यो । उत्कृष्ट बनेका सबैले जनही ६–६ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, आयोजक पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले पुरस्कृत गरेका थिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जेठ १५ गतेदेखि शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका कुल १२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक करन चित्रकारले बताए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई उनले पाल्पा फुटबल संघको तर्फबाट आभार र धन्यवाद समेत प्रकट गरे ।

 

Post Comments