News कपन भेट्रानको विजयी सुरुआत
गोलनेपाल

काठमाडौं । कपन भेट्रानले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा कपनले चावहिल भेट्रानलाई २–१ गोलले पराजित गर्याे । कपनका लागि दुवै गोल पासाङ शेर्पाले गरे । चावहिलका रन्जित लामाले १ गोल फर्काए ।

चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा नुवाकोट दरबार, एसएनकेसी र बूढानीलककण्ठले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् । चन्द्रविनायक पार्क, चावहिल मैदानमा नुवाकोटले सिन्धु स्पोर्ट्सलाई १–० गोलले हरायो । नुवाकोटका रुहनमान सिंहले निर्णायक गोल गरे ।

एसएनकेसीले कोटेश्श्वरलाई १०–० को भारी गोलअन्तरले पाखा लगायो । विजेताका सागर थापा र विभोर गुरुङले ह्याट्रिक गरे । सरोज थापाले २ तथा राकेश श्रेष्ठ र प्रदीप लामाले १–१ गोल थपे । सोम तामाङको निर्णायक गोल मद्दतमा बूढानीलकण्ठले जंगवीर युनाइटेडलाई १–० ले पन्छायो ।

प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ टिम सहभागी छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल असार ४ गते हुनेछ ।

Post Comments