News थ्री स्टार सेमिफाइनलमा
गोलनेपाल

झिलझिले । सहज जित निकाल्दै प्रतियोगिताको दावेदार मध्ये एक रुस्लान थ्रीस्टार क्लब जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लब, मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब फाइनल प्रवेशका लागि स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नु पर्नेछ ।

१ नम्बर प्रदेश लिगको उपविजेता बेलबारीविरुद्ध थ्रीस्टारको जीतमा सञ्जोग राईले दुई गोल गरे भने उनकै पासमा सुशिल राईले थप एक गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए ।

खेलको नवौँ मिनेटमा सञ्जोग राईले पहिलो गोल गर्दै थ्रीस्टारलाई खेलमा अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

लगतै सञ्जोग कै पासमा सुशील राईले गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारे । त्यस्तै खेलको ५४औँ मिनेटमा लालरमुवाको पासमा सञ्जोगले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै थ्रीस्टारको जित पक्का गरेका थिए ।

सोमबारको खेलमा दुई गोल गरेका थ्रीस्टारका सञ्जोग राई म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार स्वरुप पाए । प्रतियोगिता अन्तरगत फागुन ६ गते मंगलबाराके खेल साविक विजेता त्रिभुवन आर्मी क्लब र एमएफसी, दार्जिलिङबीच हुने आयोजकले जनाएको छ ।

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेता ३ लाख पाउनेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २० हजारका दरले पुरस्कार प्राप्त गर्नेछ ।

 

Post Comments