News बागमतीलाई सुर्यनगर गोल्डकपको उपाधि
गोलनेपाल

बर्दघाट । कठिन र रोमाञ्चक जितका साथ बागमती युवा क्लब, सर्लाही पाँचौं सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको कडा प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा बागमतीले नवलपरासी–११ लाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भयो ।

बागमतीका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा रुपक लामाले बक्स नजिकबाट गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । उता खेलको अन्तिमतिरै सुजित बुढाथोकीले रातो कार्ड खाँदै मैदान बागमती दश खेलाडीमा सिमित भएको थियो । यद्यपि त्यो रातो कार्डले पनि बागमतीको जितलाई भने रोक्न सकेन ।

निर्धारित समयको खेलतर्फ दुवै टोलीले गोलका लागि अनेक प्रयास गरे तापनि सफल भएनन् । समर्थकहरुको बलियो साथ पाएको नवलपरासीले केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनु पर्यो ।

विजेता बनेको बागमतीले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेताले नवलपरासीले ३ लाखमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नवलपरासीका सुर्य मगर घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताको बिजयी खेलाडीहरुलाई प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी तथा आयोजक क्लबका अध्यक्ष भिमकाजी गुरुङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । अध्यक्ष गुरुङले प्रतियोगितासम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । साथै उनले आगामी बर्ष प्रतियोगितालाई थप भव्यताका साथ सफल पार्न सक्दो प्रयास गर्ने बताए ।

नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा गत माघ २५ गतेदेखि शुरु प्रतियोगितामा विभिन्न जिल्लाका गरि कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments