News ब्रदर्शलाई रुपन्देही कपको उपाधि
सुरज राना मगर

बुटवल । तेस्रो रुपन्देही कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्रदर्श फुटबल क्लबले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा ब्रदर्शले आयोजक फुलबारी गाईजलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

बुटवल–१७, रानीगंज स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा ब्रदर्शका लागि हिमाल थापा र इन्द्र भण्डारीले गोल गरे । उता पराजित फुलबारीका लागि एमोस पुनले एक मात्र गोल गरेका थिए ।

विजेता बनेको ब्रदर्शले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता फुलबारीले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच बद्रर्शका हिमाल थापा चुनिए भने प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी ब्रदर्शका आयुष गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षक पनि ब्रदर्श कै बिशाल घर्ती मगर चुनिंदा उत्कृष्ट डिफेन्डर फुलबारीका मनोज श्रेष्ठ घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर फुलबारीका एमोस पुन बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार झरना स्पोर्टस क्लबका अंकित रास्कोटीले हात पारे ।

विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, आयोजक फुलबारी गाईज, बुटवलका कार्यवाहक अध्यक्ष अर्जुन गुरुङ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments