News सुदूरपश्चिम–११ द्वारा पटेला स्मार्टलाई सहयोग
गोलनेपाल

धनगढी । सुदूरपश्चिम–११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई एक कार्यक्रमको आयोजना गरी विभिन्न खेल सामग्री सहयोग गरेको छ ।

सुदूरपश्चिम–११ स्पोर्ट क्लबका अनुसार पटेला स्मार्ट क्लबलाई ११ थान बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरे ।

धनगढीको ग्रामीण ईलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनौट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्देश्यका साथ सुदूरपश्चिम–११ स्पोर्टस क्लबले खेल सामाग्री सहयोग गरेको हो ।

यसका साथै दुबै क्लबबीच दुई वर्षको रणनीतिक सम्झौता समेत भएको छ । क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने तथा पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम–११ स्पोर्टस क्लबले सहयोग गर्ने विषयमा सम्झौता भएको हो ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्री सुदूरपश्चिम ११ ले सहयोग गर्नेछ ।

सुदूपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिने उद्देश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरेको बताए । उनले दुई बर्षे सम्झौताबाट ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीहरुले नियमित प्रशिक्षण पाउने र उत्कृष्ट खेलाडीले सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताखेल्न अवसर पाउने बताए ।

पश्चिम नेपालको प्रतिष्ठित क्लबको रुपमा रहेको सुदूरपश्चिम–११ स्पोर्टस क्लबले हरेक वर्ष देशकै सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सुदुरपश्चिम–११ ले पनि सहभागीता जनाउँदै आएको छ ।

पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिम–११ सँगको सम्झौता दुई वर्ष मात्र नभएर लामो समयका लागि आवश्यकता रहेको उल्लेख गरे ।

Post Comments