यो वर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब सताक्षी गोल्डकपमा उपाधि रक्षाका लागि आज आमनेसामने हुँदैछन् ।
लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेल्ने छन् । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा थ्रि स्टारले लिगमा खाएको दुई गोलको बदला लिने प्रयास गर्नेछ । लिगको नवौँ राउन्डको दौस्रो खेलमा मच्छिन्द्रले थ्रि स्टारलाई २–० गोल अन्तरले हराएको थियो ।
शनिबार आयोजित प्रिम्याच कन्फरेन्समा दुवै टोलीले उपाधिको दाबेदारी प्रस्तुत गरे । लिग च्याम्पियन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई फेरि पराजित गरेर आफूलाई नेपाली फुटबलमा अब्बल सावित गरी फाइनल यात्रा तय गरेको हो । थ्रि स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेर उपाधि होडमा उक्लिएको थियो ।
आफ्नो टिममा स्टार खेलाडी भएकाले त्यसको फाइदा उठाउने मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालको भनाइ छ । आफ्नो टिममा कुनै कमजोरी नभएको दाबी गरेका उनले यसअघिको खेलमा देवेन्द्र तामाङ घाइते भएकाले भनेजस्तो खेल नभएको बताए । देवेन्द्र कमब्याक भए पनि आर्मीसँगको खेलमा रजिन धिमाल घाइते भएकोले केही समस्या आउँछ कि भन्ने उनले सुनाए ।
शतप्रतिशत जित निकाल्ने प्रयासमा रहेको थ्रि स्टारका प्रशिक्षक मेघरजा केसीको भनाइ छ । ६० प्रतिशतभन्दा बढी सफल भइरहेको भन्दै उनले फाइनल खेलमा बाँकी ४० प्रतिशत पूरा गर्ने दाबी गरे । लिग च्याम्पियन मच्छिन्द्रलाई पराजित गर्दै सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि थ्रि स्टारले जितेर लैजाने उनले महत्वांकाक्षी विश्वास लिएका छन् ।
थ्रि स्टारका कप्तान विक्रम लामाले जित ९० मिनेटभित्रै निस्कन्छ भन्ने फुटबलमा नहुने भएकाले जितका लागि नै खेल्ने बताए ।
टिममा नयाँ खेलाडी भएकाले उनीहरुका लागि अवसरको रुपमा लिएको उनको भनाइ छ । फुटबलमा गोलअन्तरको अनुमान गर्नु मूर्खता भएको भन्दै कसेले जित्ने भन्ने महत्वपूर्ण हुने उनले आफ्नो विचार राखे ।
मच्छिन्द्रका कप्तान विराज महर्जनले टिमका लागि फाइनल खेल महत्वपूर्ण रहेको बताए । फाइनल जित्दै दर्शकको पनि मन जित्ने दाबी गरे । ९० मिनेटभित्रै सफलता मिल्छ भन्ने फुटबलमा नहुने बताउँदै उनले मिहेनतमा ध्यान दिएर पाएको अवसरमा जित निकाल्ने मच्छिन्द्रको ध्येय रहेको कप्तान विराजले बताए ।
लिगमा थ्रि स्टारविरुद्ध मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ’बी’ ले एक एक गोल गरेका थिए । खेलको ३८ औँ मिनेटमा सब्सिच्युड खेलाडी रेजिनले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए ।
रेजिन २८ औँ मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि खेलको ९० औँ मिनेटमा विशालले गोल गर्दा मच्छिन्द्र २–० ले विजयी भयो ।
सो बेला मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेल सोचेजस्तै भएको बताएका थिए । ’खेलमा सोचे जस्तो प्रदर्शन भयो । जित्ने भनेर आएका थियाँै । जित्यौँ । अहिलेसम्मको खेलकै राम्रो प्रदर्शन भयो’, उनको भनाइ थियो । थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले खेल उत्कृष्ट भए पनि गोल निकाल्न नसकिएको बताएका थिए ।
’खेल राम्रो खेलेको हो । खेलअनुसारको स्कोर भएन । मच्छिन्द्रले पनि राम्रो मुभ बनाएन । स्कोर मात्रै निस्कियो’, केसीले भनेका थिए, ’प्रदर्शनबाट खुसी छु ।’
लिगको त्यो खेलमा मच्छिन्द्रबाट रजिन धिमाल, विशाल राई ’ए’, विशाल श्रेष्ठ, आन्द्रेस निया, विशाल राई ’बी’, सुजल श्रेष्ठ, पिटर सगुन, सोमिडे एडिलाजा, विजय धिमाल, दिपक राई र देवेन्द्र तामाङले खेलेका थिए ।
त्यस्तै, थ्रि स्टारबाट अनन्त तामाङ, लालरम्माविय, विक्रम लामा, प्रिसो, वासिउ हाजमत, रुपेश केसी, सुशील राई, अशोक खवास, एरिनोसो, सन्जोग राई र निशान खड्काले खेलेका थिए ।
गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किप्पर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ ।
सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।