News एएफसी कपको दोस्रो चरणमा मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । नेपालको मच्छिन्द्र फुटबल क्लब एसियाली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता एएफसी कपको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न पहिलो चरणको छनौट खेलतर्फ मच्छिन्द्रले भुटानको पारो फुटबल क्लबलाई ३–२ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको हो ।

दशरथ रंगशालामा भएको खेलको सातौं मिनट मै मच्छिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठको आत्मघाती गोलबाट पारोले खेलमा अप्रत्याशीत अग्रता बनाएको थियो । तर मच्छिन्द्रले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । १२औं मिनटमा बिमल घर्ती मगरले सुन्दर हेड गोलबाट मच्छिन्द्रका लागि बराबरी गोल फर्काए ।

बराबरी गोल फर्काएको दुई मिनट लगतै बिमल कै पासमा मच्छिन्द्रका लागि आयुष घलानले दोस्रो गोल थपे । त्यस्तै ३८औं मिनटमा आफिज ओलावालेले मच्छिन्द्रका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको निर्णायक अग्रता पहिलो हाफ मै सुनिश्चित गरेका थिए ।

उता दोस्रो हाफतर्फ ७१औं मिनटमा इभान असन्तेले पारोका लागि दोस्रो गोल फर्काए तापनि भुटानी टोलीको हार टार्न सकेनन् । अब मच्छिन्द्रले दोस्रो चरणतर्फ अगस्त १६ तारीखका दिन कोलकातामा चर्चित भारतीय क्लब मोहन बगानसँग खेल्नेछ ।

Post Comments