News आयोजक खप्तड गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

धनगढी । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब जारी नेपाल आइस चौथो खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाइ पाएर सोझै क्वाटरफाइनलमा भिडेको सुदुरपश्चिम–११ ले मंगलबार पहिलो क्वाटरफाइनलमा कञ्चनजंगा एफसी, भारतलाई ४–२ ले हरायो र अन्तिम चारमा स्थान पक्का गर्यो ।

धनगढी रंगशालामा भएको खेलको दशौं मिनटमै बिक्रम सिंह ठकुरीको गोलबाट आयोजकले खेलमा शुरुवाती अग्रता बनाएको थियो । लगतै १९औं मिनटमा फिलिप तामाङले गोल गर्दै आयोजकको अग्रता दोब्बर पारे ।

पहिलो हाफमै हावी देखिएको सुदुरपश्चिम–११ का लागि बिक्रम सिंह ठकुरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यद्यपि तेस्रो गोल खाए लगतै कञ्चनजंघाले खेलमा फर्कने संकेत देखायो ।

कञ्चनजंगाका लागि २८औं मिनटमा अभिषेक दर्जीले पेनाल्टीबाट गोल फर्काए । ३९औं मिनटमा छिरिङ तामाङले कञ्चनजंघाका लागि दोस्रो गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक मोडमा ल्याए ।

यद्यपि उता खेलको ४६औं मिनटमा आयोजकका लागि दिपेश श्रेष्ठले चौथो गोल गर्दै घरेलु टोलीको रोमाञ्चक जित पक्का गरे । खेलको म्यान अफ द म्याच आयोजकका बिक्रम सिंह ठकुरी चुनिए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन १४ गते बुधबारको खेल थ्रीस्टार क्लब र नव जनजागृति क्लबबीच हुने आयोजकले जनाएको छ । सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख १ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।

 

 

 

Post Comments