News ताप्लेजुङ गोल्डकप शुरु, जुट विकासको विजयी शुरुवात
गोलनेपाल

फुङलिङ । ऐतिहासिक लाखेजात्रा आयोजक समिति, ताप्लेजुङको आयोजनामा बिहीबारदेखि शुरु ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा जुट विकास फुटबल एकेडेमी, इटहरीले विजयी शुरुवात गरेको छ ।

श्री मानु जन माविको खेलमैदानमा भएको उद्घाटन खेलमा जुट विकासले मानाभरा युथ स्र्पोटिङ क्लब, ताप्लेजुङलाई सडन डेथमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको २६औं मिनटमा रोहन कार्कीको गोलबाट खेलमा शुरुवाती अग्रता पनि जुट विकासले बनाएको थियो । तर ७३औं मिनटमा दिपक लिम्बुले मानाभराका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा जुट विकासले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा मानाभराका अनुप मादेन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजर र मेडल हात पारे ।

यो जितसँगै जुट विकास प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले गरेका थिए ।

प्रतियोगिता अन्तरगत भदौ १५ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा स्र्पोटिङ क्लब, दमक, झापा र रेड हर्ष फुटबल क्लब, इलामबीच हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments