News स्वीजरल्याण्डलाई भुल्का कपको उपाधि
सुरज राना मगर

भुल्का । यहाँ सम्पन्न प्रथम भुल्का कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि स्वीजरल्याण्ड फुटबल क्लबले जितेको छ । फाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवललाई हराउँदै स्वीजरल्याण्ड च्याम्पियन बनेको हो ।

तिलोत्तमा–११ भुल्का स्थित स्थानीय खेलमैदानमा भएको खेलमा स्वीजरल्याण्डले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो । स्वीजरल्याण्डका लागि अशोक सुनारले एक मात्र निर्णायक गोल गरे ।

विजेता बनेको स्वीजरल्याण्डले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता मदन भण्डारी स्पोर्टस एकेडेमीले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी कै जितेश गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार स्वीजरल्याण्डका क्रमशः सागर सुनार र जमिर मियाँले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा–११ का वार्ड अध्यक्ष बिष्णु बराल क्षेत्री, आयोजक क्लबका अध्यक्ष अमन दिप सेन्चुरी, खेल संयोजक बिशाल थापा लगायतले पुरस्कृत गरेका थिए ।

जनै पूर्णिमाको अवसर पारी भुल्का फुटबल क्लब, तिलोत्तमा–११, भुल्काको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएको खेल संयोजक बिशाल थापाले बताए ।

Post Comments