News देवदह ब्वाईज क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । रोमाञ्चक जितका साथ देवदह ब्वाईज यहाँ जारी २१औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ देवदहले झरना स्पोर्टस क्लबलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

त्यसअघि पशुपति माविको खेल मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ झरनाका लागि निखिल थापा र रोशन थापाले गोल गरे भने देवदहका लागि नर बहादुर थापा र विकी चाम्लिङ राईले गोल गरेका थिए ।

टाईब्रेकरमा भने देवदहले झरनामाथि ५–४ को जित निकाल्यो । खेलमा देवदहका नर बहादुर थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३६ सयसहित ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ २६ गते मंगलबारको अन्तिम प्रिक्वाटरफाइनल खेल सञ्जिवनी युवा क्लब र आहना फुटबल क्लबबीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए । 

स्व। जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

 

Post Comments