News ज्योतिपुञ्ज कप असोज अन्तिम सातादेखि
सुरज राना मगर

रामपुर । ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा आउँदो असोज २२ देखि २८ गतेसम्म ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

रामपुर–७ किसनबारी स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको खेल संयोजक अनिल शाही ठकुरीले बताए । संयोजक ठकुरीका अनुसार प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरका लागि असोज १५ गतेसम्म टिमदर्ता खुला गरिएको छ ।

रामपुर नगरपालिकाको कार्यालय, रामपुर, पाल्पा संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरुले ट्रफीसहित नगद १० हजार हात पार्नेछ भने अन्य विद्यागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ५,५५५ नगदसहित ट्रफी हात पार्ने पनि संयोजक ठकुरीले बताए । साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

जिल्लाभित्र रहेका प्रतिभावान स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न र क्लबलाई थप उचाईंमा पुर्याएन प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले बताए । समग्र रामपुर कै प्रतिष्ठाका रुपमा रहेको स्मरण गर्दै अध्यक्ष गौतमले प्रतियोगितालाई राष्ट्रियस्तर मै चिनाउन पनि आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न पाल्पा जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ पाल्पा, नगर खेलकुद विकास समिति रामपुर पाल्पा र रामपुर युनाइटेड एफसीको पनि विशेष सहयोग रहनेछ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments