News आयोजक सुदुरपश्चिम–११ खप्तड गोल्डकपको फाइनलमा
गोलनेपाल

धनगढी । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब जारी नेपाल आइस चौथो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको इतिहास मै आयोजक टोलीको यो पहिलो फाइनल समेत हो ।

शनिबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा आयोजक सुदुरपश्चिम–११ ले सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । घरेलु टोलीको जितमा बिक्रम सिंह ठकुरी निर्णायक रहे । आयोजक टोलीका लागि दुवै गोल ठकुरीको नाममा रह्यो ।

खेल शुरु भएको आठौं मिनटमै बिक्रमले सुदुरपश्चिम–११ का लागि गोलको खाता खोलेका थिए । लगतै ११औं मिनटमा बिक्रमले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । जुन निर्णायक पनि बन्यो । उता एपिएफका लागि २४औं मिनटमा आशिष लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे पनि सफल भएनन् ।

खेलको म्यान अफ द म्याच पनि सुदुरपश्चिम–११ का बिक्रम सिंह ठकुरी घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने फागुन २० गते मंगलबार हुनेछ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख १ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments