News वालिङलाई हराउँदै देवदह सेमिफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । देवदह ब्वाईज यहाँ जारी २१औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ देवदहले वालिङ युनाइटेडलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा देवदहका लागि विकी चाम्लिङ राईले दुई गोल गरे भने देव गुरुङ र कप्तान सुरज चौधरीले एक–एक गोल गरे । उता पराजित वालिङका लागि दुवै गोल सन्जु रानाले गरे ।

खेलमा देवदहका विकी चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ ३० गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सञ्जिवनी युवा क्लब र पाल्पा–११ बीच हुने खेल संयोजक नेम गुरुङले बताए ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

 

Post Comments