News कपिलवस्तु–११ लिस्नु कपको फाइनलमा
सुरज राना मगर

कोटिहवा । साँघुरो जितका साथ कपिलवस्तु–११ यहाँ जारी २१औं लिस्नु कप खुला नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा कपिलवस्तुले पाल्पा–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा भएको खेलको अन्तिमतिर कप्तान सन्जु सेन ठकुरीले गरेको एक मात्र गोल कपिलवस्तुलाई जित दिलाउन निर्णायक गोल बन्यो ।

खेलमा म्यान अफ द म्याच भने कपिलवस्तु कै मिलन क्षेत्री चुनिए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे । कपिलवस्तुले अब असोज ५ गते शुक्रबार हुने फाइनलमा दावेदार मानिएको फर्साटिकर युवा क्लबको सामना गर्नेछ ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

Post Comments