News अन्ततः हुने भयो झापा गोल्डकप
रमेश समदर्शी

बिर्तामोड । मोफसलका प्रतियोगिताहरु मध्ये आफ्नो छुट्टै पहिचान बनाएको प्रतिष्ठित झापा गोल्डकपको पाँचौ संस्करण हुने भएको छ । यसपटक गोल्डकपको आयोजना हुने कि नहुने ? भन्ने अन्योलताका बीच मंगलबार सम्पन्न झापा गोल्डकप आयोजक समितिको साधारणसभाले पाँचौ संस्करण आयोजना गर्ने प्रस्ताव पारित गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा गोल्डकपको तालिका चैत २१ गतेदेखि निर्धारण गरेको छ । तर, सोही मितिमा गोल्डकप आयोजना गर्नेबारे यकिन भईसकेको छैन ।

साधारणसभालाई सम्बोधन गर्दै गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले मोफसलको प्रतिष्ठित झापा गोल्डकपलाई संस्थागत रुपमा अघि बढाउन सफल भएको बताएका छन् ।

नेतृत्व चयनसहितको साधारणसभामा बोल्दै अध्यक्ष गिरीले गोल्डकपलाई संस्थागत बनाउने क्रममा २५४ जना सदस्य बनाइएको जानकारी दिए । यो सदस्य संख्यालाई कम्तिमा एक हजार पुराउनुपर्नेमा उनको जोड छ ।

फ्यान क्लबको अवधारणाअनुरुप झापा गोल्डकपलाई विकसित गरिएको बताउँदै उनले आर्थिक रुपमा सवल बनाउन पनि प्रयत्न भइरहेको बताए । उनले आफ्नो कार्यकालमा एक करोड रुपैयाँको अक्षयकोष खडा गर्ने लक्ष्य लिइए पनि हाल ३२ लाख रुपैयाँ बचत गर्न सकिएको जानकारी गराए ।

पुराना खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरणको थालनीले पनि फुटबल खेलको विकासमा फड्को मारेको उनको भनाइ थियो । त्यस्तै, जग्गादाता डोमालाल राजवंशीका नाति परिवारलाई पनि पुरस्कारसहित सम्मान कार्यक्रमले गोल्डकपको उचाइ थपिएको उनले स्मरण गराए ।

अध्यक्ष गिरीले अब झापा गोल्डकप आयोजना गरिँदा जिल्लाका १५ वटै पालिकामा पुराउने सोचलाई पूरा गर्न नयाँ कार्यसमितिलाई आग्रह पनि गरे । मंगलबार नै युवा व्यवसायी तथा गोल्डकपका उपाध्यक्ष विनोद बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

झापा ११ लाई ब्राण्डको रुपमा व्यवस्थित गर्दै सञ्चालन गर्न आग्रह गरेका उनले अब एकाडेमीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सम्भव भएसम्म सार्कस्तरीय टुर्नामेन्ट आयोजना गर्न सकेको खण्डमा भरपूर सहयोग जुटाउने उनले प्रतिवद्धता जनाएका छन् ।

झापा गोल्डकपको सदस्य संख्यामा बृद्धि गर्दै निःशूल्क हेर्ने व्यवस्था मिलाउन सके झापा गोल्डकप सबैका लागि अपनत्व हुने भन्दै उनले स्पोन्सरको सहयोगबाट प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गोल्डकपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा ११ र झापा गोल्डकपलाई आफ्नै ठानेर सहयोग गरे मोफसलमा फुटबल विकास हुनेमा आफू विश्वस्त रहेको बताए ।

साधारणसभामा गोल्डकपका सचिव गजेन्द्र पौडेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार गिरीको आर्थिक प्रतिवदेन पारित भएको थियो । साधारणसभाले झापा गोल्डकपको पाँचौ संस्करण आयोजना गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

Post Comments