News न्यु युथ युनियन फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने
सुरज राना मगर

रामपुर । रोमाञ्चक जितका साथ न्यु युथ युनियन क्लब, तानसेन, पाल्पा यहाँ जारी ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा न्यु युथ युनियनले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई सडन डेथमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ फर्साटिकरका लागि बिकी चाम्लिङ राईले गोल गरे भने न्यु युथ युनियनका लागि सबि गुरुङले बराबरी गोल फर्काएका थिए ।

त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा न्यु युथ युनियनले ७–६ को जित निकाल्दै फाइनल स्थान पक्का गरेको हो । खेलमा न्यु युथ युनियनका सबि गुरुङ म्यान अफ द म्याच चुनिए ।

न्यु युथ युनियनले अब असोज २८ गते आइतबार नै हुने फाइनलमा आयोजक ज्योतिपुञ्ज युवा क्लबसँग उपाधिका लागि भिड्ने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

रामपुर नगरपालिका, पाल्पाको संरक्षकत्व तथा ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले बताए ।

Post Comments