News शनिश्चरेलाई लक्ष्मीधाप कपको उपाधि
रमेश समदर्शी
झापा । झापा जिल्ला फुटबल लिग च्याम्पियन अर्जुनधाराको शनिश्चरे फुटबल क्लब प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । अर्जुनधारा ११ स्थित लक्ष्मीधापमा आयोजित प्रतियोगितामा शनिश्चरेले न्यू स्टार क्लब खोपबाडी (बिर्तामोड)माथि शानदार जित दर्ता गरेको हो ।
 
सुरुवातदेखि नै दबाब सिजर्ना गरेको शनिश्चरेले न्यू स्टारलाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा शनिश्चरेले न्यू स्टारमाथि गोलको वर्षा गरेको हो ।
 
शनिश्चरेका लागि खेलको ४१औँ मिनेटमा निमा तामाङले सुरुवाती गोल गरेका थिए । उनले फाइनल खेलमा ह्याट्रिक पनि पूरा गरे । निमाले खेलको ६२ र ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । यस्तै, पुजन राईले खेलको ६१औँ मिनेटमा गोल गरेका थिए । शनिश्चरेका लागि निमा, पुजन र देवेन्द्र तामाङ सर्वाधिक गोलकर्ताको दौडमा थिए । उनीहरुले यसअघि समान ४-४ गोल गरेका थिए ।
 
फाइनल खेलमा निमाको ह्याट्रिकसँगै सर्वाधिक ७ गोल रह्यो । विपक्षी न्यू स्टारका रोमन भुजेल पनि सर्वाधिक गोलकर्ताकै दौडमा थिए । उनले पनि दुई खेलमा समान ४ गोल गरेका थिए । तर, फाइनलमा उनले कुनै अवसर नै पाएनन् । स्मरण रहोस्, शनिश्चरेले यसअघि उद्घाटन खेलमा आयोजकलाई ७-३ र सेमिफाइनल खेलमा झिलझिलेको सतासीधाम स्पोर्टिङ क्लबलाई ६-१ गोलले पराजित गरेर फाइनल यात्रा तय गरेको थियो ।
 
सर्वाधिक गोलकर्ता बनेका निमाले नगद ३ हजार पाए । यस्तै, फाइनल खेलको म्यान अफ दी म्याचको उपाधि पनि उनैले पाए । उनलाई आयोजकले नगद २ हजार ५ सय प्रदान गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी देबेन्द्र तामाङ बने । उत्कृष्ट गोलरक्षक शनिश्चरेका अनुप तामाङ, उत्कृष्ट रक्षक पेमा तामाङ, उत्कृष्ट मिडफिल्डर सौगात गोम्देन तामाङ बन्दा उत्कृष्ट प्रशिक्षक शनिश्चरेकै तुसार श्रेष्ठ बने ।
 
यसैगरी, आयोजकका सिद्धार्थ लिम्बु उदीयमान खेलाडी बन्दा न्यू स्टारका रोमन भुजेल उत्कृष्ट फरवार्डको विधामा पुरस्कृत बने । उत्कृष्ट खेलाडी बनेका देबेन्द्र तामाङले नगद ५ हजार पाए भने अन्य विधाका खेलाडीले समान ३-३ हजार पाए । अर्जुनधारा ११ को लक्ष्मीधाप स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ५१ हजार र ट्रफी पाउँदा उपविजेता न्यू स्टारले ३१ हजारमा चित्त बुझाएको छ ।
 
विजेता, उपविजेता र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षद्वय खगेन्द्र इङनाम र हरिशचन्द्र बाँस्तोला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, राष्ट्रिय कलाकार विल्सनविक्रम राई, चलचित्र निर्देशक उदय सुब्बालगायतले पुरस्कृत गरेका थिए । क्लबका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा रेफ्री संघ झापाका पूर्व अध्यक्ष प्रदीप बस्नेतलाई सम्मान पत्रसहित नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
 
त्यस्तै प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न दाता र संस्थासहित लक्ष्मीधाप क्षेत्रका ५१ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको बताइएको छ । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
 
Post Comments