News चौथो राजर्षि जनक कप शुरु, ब्वाइज युनियनलाई सफलता
गोलनेपाल

सर्लाही । बागमती नगरपालिका सर्लाहीमा बिहीबारदेखि चौथो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ब्वाइज युनियन क्लबले विजयी शुरुवात गर्यो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको उद्घाटन खेलमा ब्वाइज युनियनले आयोजक बागमती युवा क्लबलाई १–० को झिनो अन्तरले हरायो ।

ब्वाइज युनियनको जितमा सुशान्त लामाले एक मात्र निर्णायक गोल गरे । सुशान्त नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत १० हजार र एक जोर फुटबल बुट हात पारे ।

यो जितसँगै ब्वाइज युनियन प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन २३ गते शुक्रबारको खेल प्लानिङ ब्वाइज, काठमाडौं र युके एफसी, दार्जिलिङ (भारत) बीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमति युवा क्लबको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधि सहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments