News पुलिसलाई सेमिफाइनल पुर्याउन प्रतापको पाँच गोल
गोलनेपाल

बिरगंज । फराकिलो जितका साथ नेपाल पुलिस फुटबल क्लब यहाँ जारी प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ पुलिसले क्लाईभ हाउस दम–दम, कोलकाता, भारतलाई ७–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

आदर्शनगर रंगशालामा भएको खेलमा पुलिसका लागि प्रताप गुरुङ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरे । त्यस्तै प्रबिन थापा र विवेक सन्तोषीले थप एक–एक गोल गरे । पराजित क्लाईभ हाउसका लागि अमन मुन्शीले पेनाल्टीबाट एक मात्र सान्त्वना गोल फर्काए ।

पुलिसको जितमा पाँच गोल गरेका प्रताप गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । पुलिसले कार्तिक २२ गते हुने सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत कार्तिक २१ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल झापा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लबको आयोजना तथा बिरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments