News शुभ दीपावली फुटबल: फाकफोकथुममा माङसेबुङ र दमक विजयी
रमेश समदर्शी

फाकफोमथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा जारी शुभ दीपावली फुटबल प्रतियोगितामा सोमबार भएको दुई खेलबाट जुनतारा एफसी माङसेबुङ र लिटल स्टार एफसी दमक विजयी भएका छन् ।

पहिलो खेलमा माङसेबुङले स्पर्धी देउमाई नगरपालिकाको साब्जुङ एफसीलाई पराजित गर्दै क्वाटरफाइनल खेलमा प्रवेश गरेको हो । माङसेबुङका लागि कप्तान मनु लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । खेलको ४२औँ मिनेटमा पाएको फ्रिकिकमार्फत उनले गोल गरेका हुन् ।

मैदानको मध्य भागबाट गरेका प्रहार गोलमा परिणत भएको थियो । उनी म्यान अफ दी म्याच बने । यस्तै, दोस्रो खेलमा दमकले पाँचथरको न्यू स्टार एफसी चिलिङदिनलाई २-० गोलअन्तरमा पराजित गरेको हो । उसका लागि निमा तामाङले नै दुवै गोल गरेका हुन् ।

फाकफोकथुम ६ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments