News शुभ दीपावली फुटबल प्रतियोगिता: फाल्गुनन्द र आङसराङ सेमिफाइनलमा
रमेश समदर्शी

स्थानीय फाल्गुनन्द खेलकुद विकास समिति फाकफोकथुम ७ र पाँचथरको फाइभ स्टार क्लब आङसराङ फाकफोमथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा जारी शुभ दीपावली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जनकल्याण माविको खेलमैदानमा बुधबार भएको पहिलो खेलमा फाल्गुनन्दले फुङ्वा युवा क्लब फुएतप्पालाई ३-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

फाल्गुनन्दका लागि कप्तान तारा फागोले खेलको ७औँ मिनेटमा गोल गरेका थिए । १६औँ मिनेटमा सुबास तामाङले गोल गर्दै अग्रता दिलाए भने १८औँ मिनेटमा म्याग्नेट लिम्बूले थप गोल गरे । उनी म्यान अफ दी म्याच भए ।

फुएतप्पाका लागि आइकल लिम्बूले मात्र खेलको ३२औँ मिनेटमा एक गोल फर्काए । फाल्गुनन्दले खेल जिते पनि दर्शकको मन फुएतप्पाका खेलाडीले जितेका थिए ।

दोस्रो चरणको दोस्रो खेलबाट आङसराङ सेमिफाइनलमा स्थान बनाउने दोस्रो टोली बन्यो । स्पर्धी देउराली युनाइटेड मेटालुङलाई २-१ गोलअन्तरले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो ।

 आङसराङका लागि लोकेन्द्र थापाले नै २ गोल गरेका थिए । खेलको ६ र ७ मिनेटमा लोकेन्द्रले गोल गरेका हुन् । उनी म्यान अफ दी म्याच बने । देउरालीका लागि भने विवेक सुनामले ४७औँ मिनेटमा गोल गरे पनि टोली खेलमा फर्कन सकेन ।

फाकफोकथुम ६ नम्बर वडा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगदद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments