News मुनाल क्लब सेमिफाइनलमा
गोलनेपाल

झापा । टाइब्रेकरमा सताक्षी स्पोटिङ्ग क्लब झिलझिलेलाई पराजित गर्दै मुनाल क्लब चन्द्रगढी जारी वाइ वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना स्थित गणेश माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा मुनाल क्लबले सताक्षीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेले । खेलको १४औँ मिनेटमा सताक्षीका सन्दिप बस्नेतले पहिलो गोल गरेका थिए । यद्यपि २६औं मिनटमा शक्ति राईले मुनालका लागि बराबरी गोल फर्काउका थिए ।

त्यस्तै ५५औँ मिनेटमा कर्ण लिम्बुले मुनालका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए । तर त्यसको दुई मिनट लगतै सताक्षीका लागि बिक्रम राईले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाइब्रेकरमा मुनाल क्लबका कर्ण लिम्बु ,श्याम मुर्मु, प्रबिन राईले गोल गरेका थिए भने सताक्षी स्पोटिङ्गका लागि संजोक मगर र बिक्रम राईले एक–एक गोल गरे ।

खेलको म्यान अफ द म्याच मुनाल क्लब चन्द्रगढीका गोल रक्षक बिप्लब गुरुङ्ग घोषित भए । प्रतियोगिता अन्तरगत फागुन २५ गते आइतबारको खेल पुर्वेली युथ क्लब, बिर्तामोड र मेचि नेत्रालय काकरभिट्टा बीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताएका छन् ।

Post Comments