News आयोजक ओल्ड ब्वाईज बिजयपुर भेट्रान्सलाई उपाधि
सुरज राना मगर

रामपुर । पर्यटकीय नगर रामपुर, पाल्पामा सम्पन्न प्रथम ओल्ड ब्वाईज बिजयपुर भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक ओल्ड ब्वाईज बिजयपुर भेट्रान्सले जित्न सफल भएको छ ।

रामपुर–६, पाल्पा स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा ओल्ड ब्वाईजले रामपुर युथ क्लब भेट्रान्सलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । ओल्ड ब्वाईजका लागि बद्रि पंगेनी र राजिव अधिकारीले गोल गरे ।

विजेता बनेको ओल्ड ब्वाईजले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता रामपुर यथले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बद्री पंगेनी घोषित भए । उत्कृष्ट गोलरक्षक छम बहादुर दराई बन्दा उत्कृष्ट डिफेन्डर अनिल शाही ठकुरी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार राजिव अधिकारीले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले नगद १५०० र ट्रफी हात पारे ।

ओल्ड ब्वाईज बिजयपुर भेट्रान्स, रामपुर–६, पाल्पाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा रामपुर नगरपालिका भित्रका कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments