News नेपाल सुपर लिगको पुरस्कार रकममा दोब्बर वृद्धि
गोलनेपाल

काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को विजेताले ७० लाखदेखि १ करोडसम्म पुरस्कार रकम पाउने भएका छन् ।

आयोजकले नेपाल सुपर लिगको तयारी पूरा भएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनएसएलका निर्देशक श्रेयान्स कार्कीले यसपटक सुपर लिगको विजेताले कम्तिमा ७० लाखदेखि बढीमा १ करोडसम्म पुरस्कार राशी पाउने बताए ।

सुपर लिगको दोस्रो संस्करणको पुरस्कार रकमबारे यकिन रुपमा घोषणा नगरिए तापनि आयोजकले यसपटक पुरस्कार रकममा वृद्धि गरिएको कुरा भने स्पष्ट पारेको छ । स्मरण रहोस, लिगको पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले च्याम्पियन बने वापत त्यतिबेला उपाधिसहित ३५ लाख हात पारेको थियो ।

दशरथ रंगशालामा हुन गईरहेको सुपर लिगलाई व्यवसायिक रुपमा पनि थप आकर्षक बनाउन मैदानको छेउमा एलईडी पेरिमिटर पनि जडान गरिएको छ । त्यस्तै आयोजकले यसपटक लिगमा नेपाल बाहिरका लागि रेफ्री पनि ल्याउने जानकारी दियो ।

लिगको टिकट मुल्य भने आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार दर्शकहरुका लागि सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० टिकट मुल्य तोकिएको छ । लिगका खेलहरु यसपटक हिमालयन टिभीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

आगामी पौष १४ गतेसम्म चल्ने लिगमा कुल ४० खेलहरु हुनेछन् । साथै लिगमा सहभागि कुल ९ वटै टोलीहरुले प्रतिस्पर्धाका लागि तयार रहेको समेत बताएका छन् ।

Post Comments