News हाम्रो इटहरीलाई रारा भेट्रान गोल्डकपको उपाधि
गोलनेपाल

राजारानी । यहाँ सम्पन्न प्रथम स्व. ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि हाम्रो इटहरी भेट्रान, सुनसरीले जितेको छ ।

फाइनलमा बरमिओक–नामफिङ भेट्रान, सिक्किम, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै हाम्रो इटहरी च्याम्पियन बनेको हो । राजारानी खेलमैदानमा भएको उपाधि भिडन्तमा हाम्रो इटहरीका लागि ११औं मिनटमा दिपेन राईले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बरमिओक–नामफिङ भेट्रानले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच बरमिओकका सहिन्सा अन्सारी बने । उनले त्यसवापत नगद ५००० र मेडल हात पारे । अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक हाम्रो इटहरीका तुलसी श्रेष्ठ घोषित भए ।

प्रतियोगिता भरि समान ३–३ गोल गरेका हाम्रो इटहरीका सन्तोष राई र दिपेन राईले सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि हाम्रो इटहरी कै अंकुर कुमार खड्गी घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७–७ हजार हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी चौबिसे गाउँपालिका, राजारानी, धनकुटाका अध्यक्ष राजकुमार चेम्जोङ लगायतले पुरस्कृत गरेका थिए ।

रारा भेट्रान, राजारानी, धनकुटाको आयोजना तथा चौबिसे गाउँपालिका, राजारानीको संरक्षकत्वमा भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments