News ताप्लेजुङ महिला गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी सुखानी शहिद स्मृति १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

ताप्लेजुङको जीतमा दुवै गोल सुस्मा खातीले गरेकी हुन् । उनले पहिलो र दोस्रो हाफमा टिमका लागि व्यक्तिगत दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

सुनसरीले दबाब सिर्जना गरिरहेको बेला खेलको ३४औँ मिनेटमा सुष्माले विपक्षी गोलरक्षक विट भएको मौकामा गोल गरेकी हुन् । त्यस्तै दोस्रो हाफतर्फ ५३औं मिनटमा सुस्माले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरिन् ।

खेलको वुमन अफ द म्याच ताप्लेजुङकी सुष्मा खाती नै घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

त्यस्तै, ताप्लेजुङको खेल मन पराएर ढुंगेसाघ निवासी प्रहरी हवल्दार बलबहादुर तामाङले प्रशिक्षक डिकबहादुर सुब्बालाई नगद ५ हजार प्रदान गरे ।

मंगलबार कनकाई नगर खेलकुद विकास समिति झापाले लेटाङ फुटबल क्लब मोरङसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ द टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

Post Comments